Introduction

परिचय

          मोरङ जिल्लाको तत्कालिन उर्लाबारी गा.वि.स. वडा नं.–६, हाल नगरपालिका वडा नं.–३, मंगलबारे स्थित स्थानिय गैर सरकारी संस्था स्वयम्सेवक समन्वय केन्द्रको प्राविधिक सहयोगमा समाजका अग्रणी व्यक्तित्वहरुको भेलाबाट मिति २०५० साल ज्येष्ठ महिनामा प्रति कित्ता शेयर रु.५०/–मासिक बचत रु. ५०/– र अन्य शुल्क रु. १५/– गरी रु.११५/– जम्मा गरी ४१ जना शेयर सदस्यबाट यो संस्था सुरु गरियो । सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाको तत्कालिन कार्यक्षेत्र उर्लाबारी गा.वि.स. रहेको थियो । तदर्थ समितिका अध्यक्ष लगायत सञ्चालक समितिका साथीहरुको अथक प्रयासबाट २०५०/०७/२५ मा जिल्ला सहकारी कार्यालय मोरङमा दर्ता भएसंगै यो सहकारीको विधिवत् रुपमा जन्म भएको हो । यसको प्रारम्भिक साधारण सभा ४१ जना शेयर सदस्य मध्ये ३४ जनाको उपस्थितिमा श्री सुनपकुवा माध्यमिक विद्यालय उर्लाबारी–२, साविक ७ मंगलबारेमा सम्पन्न गरिएको थियो ।
विनियम अनुसार हाल संस्थाको कार्यक्षेत्र उर्लाबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिकाको वडा नं. १, देखि ७, मिक्लाजुङ्ग गाउँपालिका रहेका छन् । संस्थाले २०५० सालदेखि २०६६ सालसम्म विभिन्न स्थानिय शेयर सदस्यहरुका घरमा भाडामा कार्यालय सञ्चालन गर्दै आएकोमा २०६६ साल माघ १६ गतेदेखि ०–१–३–० क्षेत्रफलमा भवन निर्माण गरी कार्यालय सञ्चालन गरेकोे छ । यस संस्थाले उर्लाबारी–३, सहकारी मार्गमा रहेको कार्यालयबाट विहान १० वजेदेखि वेलुकी ५ः३० वजेसम्म शेयर सदस्य तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको छ ।
संस्था इन्डे साकोस तालिम र CUDCC (सञ्चालकहरुको क्षमता अभिवृद्धि) तालिम सञ्चालन गरी थप व्यवसायिक र संस्थागत हुने तर्फ अगाडि बढिरहेको छ । गुणस्तरीय सेवा प्रदान गरी सदस्य सन्तुष्टी अभिवृद्धि गर्न आ.व. २०६९/०७० देखि एशियाली मापदण्डको सहकारीको रुपमा पुयाउन A1 Competitive Choice for Exellence in Service and Soundness (Access) अर्थात “उत्कृष्ट सेवा तथा सुरक्षाका लागि सर्वाेत्तम छनौट” कार्यक्रममा सहभागी भएको छ ।
संस्था सहकारी ऐन, नियमावली, मापदण्ड, संस्थाको विनियम नीति कार्यविधिका आधारमा छाता संघ–संस्थाको परामर्शमा रही सञ्चालन भईरहेको छ । संस्थाले शेयर सदस्यहरुको आर्थिक उन्नती तथा वित्तीय समस्या समाधानका लागि विभिन्न प्रकृतिका सेवा तथा उत्पादनहरु सरल तथा सुलभ रुपमा उपलब्ध गराएको छ । ऋणको उत्पादनहरुको विविधीकरण अन्तर्गत व्यवसायिक कर्जा, कृषि कर्जा, इलेक्ट्रोनिक्स कर्जा, शैक्षिक कर्जा, सौर्य उर्जा कर्जा, वैदेशिक रोजगार कर्जा, हायर पर्चेज कर्जा, घरकाज कर्जा, आपतकालिन कर्जा लगायतका कर्जाहरु सुलभ र सरल रुपमा उपलब्ध गराइएको छ भने बचत उत्पादन तर्फ, नियमित मासिक बचत, कारोबार बचत, ऐच्छिक बचत, ज्येष्ठ सदस्य बचत, बाल बचत, आवधिक बचत, भ्रमण बचत, दैनिक घरदैलो बचत, मुद्दती बचत जस्ता बचतका सेवाहरुमा आकर्षक व्याजदर प्रदान गरी शेयर सदस्यहरुको धन सिर्जना गर्न उल्लेखनीय भुमिका निर्वाह गरेको छ ।
हाल संस्थामा हाल संस्थामा ३३०० शेयरसदस्स र  ६५५ बाल  सदस्यहरु आवद्ध रहनु भएको छ । आ.व. २०७४/०७५ को सदस्य सन्तुष्टी सर्वेक्षण अनुसार ८९% सदस्यहरुले एकमात्र रोजाईको संस्थाको रुपमा यस संस्थालाई छनौट गर्नुभएको छ । पूर्व नेतृत्ववर्ग, व्यापारी, कृषक, समाजसेवी, विभिन्न पेशा व्यवसायमा आवद्ध, विद्यार्थी लगायतका शेयर सदस्य तथा सञ्चालक समिति, उप–समिति, कर्मचारीहरुको अथक प्रयास तथा मेहनतको परिणाम स्वरुप नेफस्कुनबाट प्रदेश नं.–१ को उत्कृष्ट सहकारी संस्था २०७४ को रुपमा पुरस्कृत भएको छ